महिला र पुरुषले योनिमा लिंग छिराएर
पहिलोपटक गरेको यौन सम्पर्कमा महिलाको योनिमा रहेको झिल्ली च्यातिने अवस्थालाई
कुमारीत्व गुमेको भनी परिभाषित गरिएको छ । यो परिभाषाले फरक लिंगीहरूबिचको
सम्बन्धलाई मात्रै परिभाषित गरेको छ र एलजीबीटीक्यूआईए+ समुदायका व्यक्तिहरूको
अनुभूतिलाई समावेश गरेको छैन । साथै यसले कुनै व्यक्तिले कुमारीत्व तथा कुमारीत्व
गुमेको अवस्थालाई कुन अर्थमा बुझेका छन् भन्ने बारेमा ध्यान दिएको छैन ।
ऐतिहासिक रूपमा महिलाहरूको कुमारीत्वको
बारेमा धेरै नै जोड दिइएको छ र इसाइ धर्म लगायत पश्चिमी धर्म तथा संस्कृतिमा
कुमारीहरूको “शुद्धताको” बारेमा धेरै नै प्रशंसा गरिएको छ । दक्षिण एशियामा यौनको बारेमा
पुरातनवादी मूल्यमान्यता तथा पित्तृसत्ताको कठोर संरचनाले गर्दा पुरुषहरूले कुमारी
महिलाहरू विवाह गर्ने ठानिएको आफ्नो हकलाई जोड दिएको छ । कन्यादान भनेको आफ्ना
बुबाले कुमारी छोरीलाई उनको पतिलाई दान गर्ने भन्ने चलन हो । हिन्दू विवाह
संस्कारमा बेहुलीले आफ्नो नयाँ जीवनको सुरुवात गर्नु अगाडि गरिने यो एक उल्लेख्य
तथा अन्तिम चरणको क्रिया हो । यस्तै संस्कार इसाइ धर्ममा पनि छ । उक्त संस्कार
अनुसार योनिको शुद्धता जनाउने सेतो लुगा लगाउने बेहुलीलाई पिताले उपस्थित
मानिसहरूको बिचबाट हात समातेर हिँडाइ उनको पतिलाई हस्तान्तरण गर्छन् । यी दुवै
चलनले भौतिक रूपमा महिलालाई अर्को व्यक्तिलाई प्रदान गर्ने संस्कारको उच्च मान्यता
दिएका छन् र पुरुषसँग नजोडिई महिलाहरूको कुनै पनि पहिचान हुँदैन भन्ने खालको
व्याख्या गरेका छन् ।
कन्यादानको निरन्तरको अभ्यासले महिलाको
रहेको भनिएको कुमारीत्वको पवित्रतालाई बढाइचढाइ गरेका छन् र त्यसलाई विवाह र धर्म
जस्ता दक्षिण एशियाका सबभन्दा ठूला दुई संस्थाहरूसँग गाढेर राखेका छन् । खुला
रूपमा यौनिकतालाई स्वीकारेको शताब्दीयौँ लामो इतिहास भएको हिन्दू धर्ममा यस्तो
संस्कारको विरोधाभाष देखिन्छ । हिन्दूहरूले कामाशुत्रको सिर्जना गरे र नेपाल तथा
भारतका मन्दिरहरूमा ढुंगामा कुँदिएका तान्त्रिक यौनिक आसनहरूमा देवी देउताका सक्रिय
यौन जीवन थियो । तर शताब्दीयौँका अभ्यास अनुसार यौनिकतालाई मानव जीवनको राम्रो तथा
प्राकृतिक प्रक्रिया ठानी स्वीकार्ने चलनलाई पवित्रतालाई जोड दिने सामाजिक मूल्य
मान्यता तथा महिलाहरूको यौनिकतामा पित्तृसत्तात्मक नियन्त्रणले विस्थापित गर्यो ।
महिलाहरूले आफ्नो कुमारीत्व गुमाउने
स्थितिलाई समाजले जीवनको एउटा महत्त्वपूर्ण अनुभूति भएको भनी परिभाषित गर्दै त्यो
विवाहपछि हुँदा राम्रो भन्ने गरी समाजले व्याख्या गर्यो । विवाह अगाडि नै
कुमारीत्व गुमाउने महिलाहरूलाई अनैतिक तथा उत्ताउली भनी भन्न थालियो । उनीहरूलाई
पुरुषलाई जसरी नकारात्मक रूपमा मूल्याङ्कन गरिन्न । परिवार तथा समाजले गर्ने
मूल्याङ्कन तथा ‘पवित्रता’ को निरन्तर रूपमा दिइने सन्देशले गर्दा धेरै महिलाहरूलाई विवाह अगाडि
कुमारीत्व गुमाउँदा शरमको अनुभूति हुन्छ ।
कुमारीत्वको बारेमा युवा पुस्तामा
धारणाहरू परिवर्तन भैरहेको देखिनु सकारात्मक छ । त्यसको कारणको रूपमा बढी महिलाहरू
नारीवादी आन्दोलनमा सहभागी भएकोले, आफ्नो शरीरमाथिको स्वायत्तता दाबी गरेकोले र आफ्नो यौनिकताको बारेमा
थाहा पाउन खोजेकोले हो । २५ देखि ४० वर्ष उमेरका धेरै शिक्षित महिलाहरूले
कुमारीत्वको सामाजिक अवधारणाबाट मुक्त भएका भए पनि कतिपयले अतिवादी शैलीमा
कुमारीत्वको अवधारणालाई लागु गर्न खोज्छन् । बेहुलीको कुमारीत्वको ‘प्रमाण’ को रूपमा विवाहपछिको भोलिपल्ट तन्नामा
रगतको टाटा हेर्ने परिवारदेखि आफ्ना किशोरी छोरीहरूलाई कुमारीत्वको परीक्षण गर्न
डाक्टरकोमा लाने अभिभावकहरू पनि हुन्छन् । त्यसरी परीक्षणमा गएका किशोरीहरूको
योनिमा दुईटा औँला छिराएर योनिको झिल्ली च्यात्तिएको छ कि छैन भनी चिकित्सकले जाँच
गर्छन् ।
योनिको झिल्ली तथा कुमारीत्वसँग त्यसको
सम्बन्धको बारेमा धेरै भ्रमहरू रहेका छन् र त्यसले महिलाहरूलाई उनीहरुको शरीरमा
हस्तक्षेप गर्ने खालका अभ्यासहरू खेप्नु परिरहेको छ । योनिको झिल्ली भनेको एउटा
सानो तन्तु हो जसको मानव शरीरमा कुनै भूमिका नै हुन्न तर महिलाहरूको अस्तित्व नै
त्यसैमा अडाइएको हुन्छ । योनिको आकार फरक भए जस्तै योनि झिल्लीको आकार पनि हरेक
महिलामा फरक हुन्छ । कतिपय महिलाहरूमा योनि झिल्ली हुन्न र त्यो झिल्ली यौन
सम्पर्कको बेलामा च्यातिने पनि हुन्न बरु तन्किन्छ । यौन सम्पर्कको बेलामा रगत
आउने भनेको अनुभवको कमी वा तनावले गर्दा हुन्छ न कि योनि झिल्ली तन्किएर ।
निष्कर्षमा भन्दा महिलाको कुमारीत्वको बारेमा यकिन गर्न योनि झिल्ली हुनु वा नहुनु
कुनै आधिकारिक संकेत होइन ।
कुमारीत्वको बारेमा गहिरो जरा गाडेर
बसेका भ्रमहरू, समाजको मूल्याङ्कन तथा यौनिक रूपमा नयाँ
खोज गर्ने प्रगतिशील व्यक्तिहरुको सोचको सह अस्तित्वले नयाँ उद्योगहरू सिर्जना
गरेको ५ । यदि कुनै महिलाले विवाह अगाडि आफ्नो कुमारीत्व गुमाएको भए त्यसलाई
लुकाउने वा सुधार गर्ने समाधानहरू रहेका छन् । नक्कली योनि झिल्लीका साधनहरूमा
योनिभित्र हाल्न मिल्ने र लिंग योनिमा पसाउँदा फुट्ने नक्कली रगतका क्याप्सुलहरू
तथा उक्त झिल्लीलाई पुन: पहिलेकै अवस्थामा ल्याउने शल्यक्रिया हाइमेनोप्लास्टी
पर्छन् । यी शल्यक्रियाहरू मध्यपूर्व, अफ्रिकाका देशहरू तथा भारत र पाकिस्तान जस्ता दक्षिण एशियाका देशहरमा
लोकप्रिय रहेका छन् । त्यसो भन्दै गर्दा महिलाको यौनिकताको विषयमा विकसित देशहरू
पनि हामीले सोचे जति प्रगतिशील छैनन् । त्यसैले हजारौँ अमेरिकीहरूले हरेक वर्ष
कृतिम यौनि झिल्लीको माग गर्छन् ।
कुमारीत्व एउटा भ्रम हो र हामीले यसबाट
मुक्त हुँदै यसलाई महिलाको मूल्य तोक्ने साधन बनाउन अस्वीकार गर्नुपर्छ ।
सन्दर्भहरू:
https://feminisminindia.com/2015/11/18/of-vaginas-virginity-and-two-finger-test/
https://www.bbc.com/future/article/20220419-how-the-hymen-myth-destroys-lives
https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC6547601/
https://timesofindia.indiatimes.com/life-style/beauty/Women-going-under-knife-to-restore-
virginity/articleshow/5715442.cms
https://feminisminindia.com/2019/11/20/case-artificial-hymen-product/
https://medium.com/the-establishment/a-quick-and-dirty-history-of-virginity-9ceb24b7e08a